सुदर्शन सापकोटा, काठमाडौं, साउन १ - शुक्रबारको दिन भएर पनि डिसिबिएल बैंककी सहायक व्यवस्थापक डिना चित्रकार अफिसबाट छिट्टै फुत्किन पाइनन्। वाणिज्य बैंकहरूले बैंकिङ कारोबार पनि बन्दै गरेका थिए। तैपनि उनी अरू दिनभन्दा व्यस्त हुनुपर्‍यो। शुक्रबार, असार मसान्त। नेपालको आर्थिक पात्रोअनुसार वर्षको यो अन्तिम दिन सबैं बैंक, वित्तीय संस्था र सार्वजनिक तथा निजी कम्पनीहरूले आफ्नो हरहिसाब मिलान गर्ने दिन हो। आज शनिबारदेखि आर्थिक पात्रो नयाँ वर्षमा प्रवेश गर्छ। व्यवसायीहरू त्यही भएर अघिल्लो दिनै बितेको वर्षका सबै लिनेदिने हिसाब फरफारक गरेर नयाँ खाता तयार पार्छन्। डिनाको व्यस्तताको कारण यही हो। 'असार मसान्तको दिन सधैं यस्तै हो,' १० वर्षदेखि यही कम्पनीमा काम गरिरहेकी उनी भन्छिन्, 'अरू बेला भइदिएको भए शुक्रबार तीन बजे बैंक बन्द भइसक्थ्यो। असार मसान्त परेकाले वर्षभरिको हिसाब मिलान नगरी छुट्टी पाइन्न। कम्तिमा ८ बज्छ।' सबैं बैंकका शाखामा शुक्रबार यसैगरी बित्यो। नेपाल बंगलादेश बैंकले सन्ध्याकालीन काउन्टर बन्द गरेको सूचना प्रकाशित गरेको थियो। अधिकांशले यस्तो सूचना नदिए पनि सामान्य बैंकिङ कारोबारबाहेक ग्राहकसँग प्रत्यक्ष कारोबार गरेनन्। कर्जा प्रवाहको काम त एक महिनादेखि नै बन्द भइसक्यो। मसान्तको दिन सहजै हिसाब मिलान भए उनीहरूले समयमै छुट्टी पाउँछन्। नभए एक पैसाको हिसाब नमिल्दा पनि रातभर जाग्राम बसेर मिलाएकै हुनुपर्छ। खासगरी यसले बैंकको कर्जा विभाग, लेखा, सञ्चालन, सूचना प्रविधि र प्रतीतपत्र विभागमा बढी चाप पर्छ। शुक्रबार पुतलीसडकको काठमाडौं प्लाजास्थित डिसिबिएलको प्रधान कार्यालय पुग्दा त्यहाँका कर्मचारी यो वर्षभित्र उठाइसक्नुपर्ने कर्जा र त्यसको ब्याजका लागि ताकेता गर्दै ग्राहकलाई फोन गर्न व्यस्त थिए। कोही घडी हेर्दै कर्जा तिर्न आउने ग्राहकको बाटो कुरेर बसेका थिए। 'आउँछु भनेका ऋणी नआउन्जेल पर्खनैपर्छ,' बैंकका सुपरिवेक्षक चारु प्रधान भन्छिन्, 'उनीहरूले तिरेर गएपछि पनि हामी हिसाब मिलान नगरी घर फर्कन पाउँनौं।' डिसिबिएलका प्रमुख कार्यकारी सुधिर खत्रीका अनुसार तोकिएको कर्जा र ब्याज नउठे त्यो रकम अर्को वर्ष बक्यौताका रूपमा सर्छ। त्यो रकम बराबर सम्भावित नोक्सानीको व्यवस्था गर्नुपर्ने हुन्छ। 'यसले बैंकको नाफामा सोझै असर पार्ने हुँदा हामी भरसक मसान्तभित्रै तोकिएको हद पूरा गर्न कुनै कसर छोड्दैनौं,' खत्रीले भने, 'आज बैंकको कर्जा उठे वासलात राम्रो देखिन्छ।' आफ्नो अफिस कोठामा झन्डै आधा घन्टा नागरिकसँग कुराकानी गर्दा उनलाई दर्जनौं फाइल सही गर्न चापाचाप थियो। उनका अनुसार बैंकका लागि असार मसान्त एकदमै गाह्रो र व्यस्त दिन हो। कतिपय संस्थामा त नयाँ वर्षको उत्सव मनाएजस्तै आर्थिक वर्ष सुरु भएको खुसीमा भोज खाने चलन पनि छ। सिंहदरबार प्लाजास्थित नेपालको एकमात्र पुँजी बजार स्टक एक्स्चेन्जमा त्यस्तै भयो। एक्सचेन्जले शुक्रबार ३ बजेतिर हिसाबमिलान सकेपछि कर्मचारीलाई क्याटरिङसहितको भोज खुवाएको थियो। आर्थिक वर्षको मैझारो निजी क्षेत्रका उद्योगधन्दामा पनि देखियो। गोल्छा समूहका अध्यक्ष दिवाकर गोल्छाले वर्षको अन्तिम दिन भएकाले हिसाब मिलानमा व्यस्त रहनुपरेको बताए। 'यो वर्ष कुनै काम रोकिए अर्को वर्षको नयाँ खातामा हिसाब पेन्डिङ देखिने हुँदा जसरी भए पनि आजै भ्याउँछौं,' उनले भने। उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेपाल इकरात इन्जिनियरिङमा पनि शुक्रबार असार मसान्तको चटारो थियो। 'वर्षभरिको ग्राहक इन्क्वाइरी, भुक्तानी, माग र वितरणसम्बन्धी हिसाब मिलान गर्नुपर्छ,' विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी इकरातकी बजार प्रमुख शर्मिला सुब्बाले भनिन्। चलन थरिथरिका विधिवत् खाताबन्दी असार मसान्तमा हुने भए पनि कतिपय व्यापारिक समुदायले लक्ष्मीपूजालाई पनि हिसाबकिताब फरफारक गर्ने दिनका रूपमा लिन्छन्। खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानका अनुसार मारवाडी समुदायले लक्ष्मीपूजालाई हिसाब मिलान गर्ने दिनका रूपमा लिँदै आएका थिए। मारवाडी समुदायमा रोकड प्रणालीअनुसार हिसाब राख्ने चलन छ। जसमा सबै किसिमका हिसाब एउटै रजिष्टर्डमा राखिन्छ। तर, पछिल्लो समय यो परम्परा हराउँदै गएको खेतान बताउँछन्। 'रोकड प्रणाली भएको बेला लक्ष्मीपूजाको दिन पुर्ख्यौली घरमा भेला भएर पुरानो खाता बन्द गरी नयाँ सुरु गर्ने चलन थियो,' उनले भने, 'अहिले यो प्रणाली छैन। तैपनि, हामी लक्ष्मीपूजामा पुर्ख्यौली घरमा भेला हुन्छौं। पुरानो रजिष्टर्ड, पैसा राख्ने सन्दुक, कपडा काट्ने कैंची, कपडा नाप्ने फित्ताको पूजा गर्छौं।' पहिले प्रोप्राइटरसिपमा चलेका निजी उद्योग व्यवसाय आर्थिक उदारीकरणसँगै पब्लिक लिमिटेड र प्राइभेट लिमिटेड कम्पनीका रूपमा परिणत भएकाले रोकड प्रणाली हराएको हो। त्यससँगै खाताबन्दीको तिथि लक्ष्मीपूजाबाट असार मसान्तमै सरिसकेको छ। भारतका मारवाडी समुदायले भने अझै लक्ष्मीपूजाकै दिन नयाँ खाता सुरु गर्छन्। 'उदारीकरणको लहरलाई त मान्नैपर्‍यो,' खेतानले भने, 'अब हामी पनि असार मसान्तमै पुरानो खाता 'क्लोज' गरेर नयाँ सुरु गर्छौ। असार १५ गतेतिर नयाँ आर्थिक वर्षका लागि आन्तरिक बजेट ल्याउने चलन पनि छ।' थकालीहरू भने आज पनि श्रीपञ्चमीको दिनलाई नयाँ आर्थिक वर्षको सुरुवातका रूपमा लिन्छन्। गाउँघरतिर अझै यही दिनबाट नयाँ आर्थिक कारोबार सुरु गर्ने चलन छ। धेरैजसोले ऋण दिँदा श्रीपञ्चमीकै भाखा राखेका हुन्छन्। कायस्थ समुदायमा भने कागतिहारको दिनलाई आर्थिक वर्षको सुरुवात मानिन्छ। उदारीकरणको असर आर्थिक उदारीकरणसँगै नेपाली कम्पनीहरू विभिन्न बहुराष्ट्रिय कम्पनीसँग आबद्ध हुँदै गएका छन्। र, त्यससँगै नेपालको असार मसान्तको महत्व पहिलेभन्दा कम हुँदै गएको छ। वाणिज्य बैंकहरूकै कुरा गर्दा विधिवत् खाताबन्दी असार मसान्तमा भए पनि कतिपय हिसाबकिताब अंग्रेजी पात्रोअनुसार डिसेम्बर अन्तमै हुन्छ। अधिकांश वाणिज्य बैंकको कुनै न कुनै बहुराष्ट्रिय बैंकसँग सम्बन्ध रहेकाले उनीहरूसँग तालमेल मिलाउन यसो गर्नुपरेको हो। संयुक्त राष्ट्र संघले नयाँ आर्थिक वर्ष सुरु हुने दिन जनवरी १ लाई मान्छ। भारतीय कम्पनीसँग आबद्ध कतिपय क्षेत्रमा भने मार्च अन्तिममा खाता बन्द गर्नुपर्ने अवस्था छ। यसको उदाहरण बिमा कम्पनी हो। यहाँका अधिकांश बिमा कम्पनीले भारतको जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) मा पुनर्बिमा गराउने हुँदा उताको आर्थिक वर्षसँग सामञ्जस्य राख्न मार्च अन्तिममै हिसाब फरफारक गर्नुपर्ने खेतानले बताए। आर्थिक वर्षको थालनी नेपालमा नीति तथा कार्यक्रमसहित आर्थिक वर्षको बजेट ल्याउने चलन २००७ सालबाट सुरु भएको हो। यस आधारमा नेपालको पहिलो आर्थिक वर्ष २००७/८ हुन आउँछ। तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले सुरु गरेको यही आर्थिक वर्षलाई आजसम्म आधिकारिक मनिँदै आएको छ। त्यो बजेट पनि साउन १ देखि नै लागू हुनेगरी आएको थियो। साउन १ देखि असार मसान्तसम्मलाई आर्थिक वर्षका रूपमा गणना गर्ने परम्परा कसरी चल्यो भन्ने यकिन जानकारी कसैसँग छैन। अर्थशास्त्री विश्वम्भर प्याकुरेलले कृषिमा आधारित अर्थतन्त्र भएकाले नेपालमा साउनबाट आर्थिक वर्ष सुरु भएको हुनसक्ने बताए। उनका अनुसार बर्खा लागेपछि खेतीपातीको काम सुरु हुन्छ। यसको चक्र असारसम्म चल्ने भएकाले साउन १ बाट आर्थिक वर्ष मान्न थालिएको हो। यसमा कुनै वैज्ञानिक आधार भने नभएको उनले जानकारी दिए। अर्का अर्थशास्त्री भोला चालिसे धार्मिक आधारमा आर्थिक वर्षको तिथि तोकिएको हुनसक्ने बताउँछन्। उनका अनुसार साउन १ देखि सूर्य उत्तर दिशाबाट दक्षिणतिर लाग्छ। त्यो दिनदेखि हिन्दु धर्ममा दक्षिरायाण सुरु भएको मानिन्छ। संयोगै भए पनि साउन १ देखि आर्थिक वर्ष सुरु हुने चलनले नेपाललाई सीमावर्ति भारतका आर्थिक नीतिको असर मूल्यांकन गरेर त्यसैअनुसार कार्यक्रम ल्याउन भने सजिलो बनाएको छ। खुला सीमा भएकाले बजार मूल्य वृद्धिदेखि अर्थतन्त्रका धेरै आधार भारतीय नीतिसँग गाँसिएका छन्। भारतको आर्थिक वर्ष नेपालको भन्दा साढे तीन महिनाअघि अप्रिल १ बाट सुरु हुन्छ।

स्पेनको विजयको रहस्य
2010-07-17 22:39:35

म्याड्रिड, साउन १ (एजेन्सी)- १६ जुनमा स्विटजरल्याण्डसंग १-० ले पराजित भएपछि विश्व विजेता स्पेनको ड्रेसिङ रुममा खैला-बैला मच्चिएको थियो। सवै स्पेनी खेलाडी अपराधीझै मुख लडकाएर बसेका थिए।

सन् २००८ को युरो कपमा टोलीको सान्दार प्रर्दशनपछि विश्वकप जित्ने अभियानस्वरुप दक्षिण अफ्रिका पुगेको स्पेनका लागि वास्तवमै त्यो नतिजा स्तब्ध पार्ने खालको थियो। २१ जुनमा होन्डुरससंग दोस्रो खेल खेल्न मैदानमा उत्रिनुअघिसम्म पनि स्पेनी टोलीमा अन्यौलता ब्यापक थियो, जितका लागि आखिर कुन शैली अपनाउने।



ड्रेसिङ रुममा प्रशिक्षक भिसेन्ट डेल बोस्क्युले सवैलाई उत्साहित पारे, 'केटा हो हामीले यो खेल फाइनलझै सोचेर खेल्नु पर्नेछ। किनभने पराजयपछि हामीसंग कुनै लक्ष्य बाँकी रहनेछैन।' प्रशिक्षक बोस्क्युको कुरामा सही थप्दै कार्लोस पुयोलले भने- 'हो, वास्तवमै यो खेल हाम्रो लागि फाइनल हो।'



होन्डुरसविरुद्ध विश्वकपको दोस्रो खेल अगाडि आफ्नो टोलीलाई उत्साहित र सम्हालिन बोस्क्यु र पुयोलले गरेको आग्रहपछि स्पेनले विश्वकपमा कुन गति लियो, त्यो सवैलाई थाहा भएकै विषय हो। तर, अहिलेपनि सवैलाई थाहा नहुन सक्छ, आखिर स्पेनले विश्वकप जित्ने इतिहास कसरी रच्यो? यसको पछाडि के रहस्य लुकेको थियो?



मिडफिल्डर जाबी अलोन्सो भन्छन्- 'स्विटजरल्याण्डसंग पराजित भएपछि हामीबीच खेल्नै शैलीलाई लिएर बहस भएको थियो।' तर, पूर्व लिभरपुल क्लबका यी सदस्यले आफ्ना मित्र फेर्नान्डो टोरेससंग मिलेर आफ्नो शैली नछोड्न वकालत गरेका थिए। 'एउटा पराजयले हामी आफ्नो शैली छोडन सक्दैनौ र छोडन पनि हुँदैन', खेलाडी र प्रशिक्षकबीचको बैठकमा उनको स्पष्ट धारणा थियो।





त्यही बैठकमा आफ्नो धारणा पोखेका स्ट्राइकर टोरेस भन्छन्- 'हामी मर्ने नै हो भने पनि आफ्नै विचारलाई पछयाउँदै मर्नुपर्छ, न की कुनै अर्के शैली अपनाउँदै।' त्यतिबेला टोरेस पूर्णरुपले स्वस्थ्य थिएनन्। यस्तै आन्द्रेस इनिस्टा पनि पिडुलाको मासु सर्केका कारण सर्घष गरिरहेका थिए। खेलाडी र प्रशिक्षकको यो अनौठो संवादपछि स्पेनले पछिल्लो २ बर्षदेखि खेल्दै आइरहेको आफ्नो शैलीलाई नछोडने निर्णय गरेको थियो। जसका कारण यो देश एकपछि अर्को गर्दे खेल जित्न सफल भयो। नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा प्रशिक्षक बोस्क्युले 'प्लेइङ सेट' मा अनुमान गरे अनुसार टोरेस, सेस फाब्रिगास र नाभसलाई उतारेनन्। उनले यिनीहरुको सट्टा मिडफिल्डमा जाबी अलोन्सो र सेर्गियो बस्क्युट्सलाई मैदानमा उतारेका थिए।



प्रतियोगिता अवधिभर स्पेनले आफ्नो डिफेन्स लाइनमा बढि दबाब पर्न दिएन्। मिडफिल्डमा खेलाडीलाई सर्तक रहन बोस्क्युले अह्राएका थिए। छोटो र सटिक पास खेल्न, विपक्षी खेलाडीबाट बल खोस्न र स्ट्राइकरलाई बल उपलब्ध गराउन उनले मिडफिल्डका खेलाडीलाई जिम्मेवारी सुम्पिएका थिए। त्यसैले पनि होला, यो विश्वकपमा स्पेनको मिडफिल्ड सवैभन्दा बढि प्रभावशाली देखिन्थ्यो।



विश्वकपको अल स्टार टोली



गोलकिपर- इकेर कासिलास (स्पेन)

डिफेन्डर- सेर्जियो रामोस (स्पेन), कार्लोस पुयोल (स्पेन), माइकोन (ब्राजिल), फिलिप लहाम (जर्मनी)

मिडफिल्डर- आन्द्रेस इनिस्टा (स्पेन), जाभी (स्पेन), बास्टियन स्वेन्सटाइगर (जर्मनी), वेस्ले स्नाइडर (नेदरल्याण्ड्स)

फरवार्ड- डिएगो फोर्लान (उरुग्वे), डेभिड भिआ (स्पेन)

प्रशिक्षक- भिसेन्ट डेल बोस्क्यु (स्पेन)

Advertise with Us / Copyright 2009 Trishuli News! Inc. All rights reserved. / About Us / Contact Us / Powered by 23rdweb